काठमाडौं, १६ असार । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन्। खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी-२० विश्वकपको फाइनल खेल आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।
रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्याे। म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।
रोहितअघि विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए। कोहलीले भने- ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो। यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो। हामी यो कप उठाउन चाहन्थ्यौं। अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडि बढाउने छन्।’
रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी-२० विश्वकप जित्न सफल भएको छ। यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो। अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो।