News Portal

अध्यक्ष प्रचण्ड भदौ ३० गते झापा आउने

रातोपोस्ट संवाददाता
६१ पटक

झापा, २६ भदौ । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मुख्य बत्ताका रुपमा रहेर प्रशिक्षण कार्यक्रम हुने भएको हो । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्ड आउन लागेको जानकारी दिएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) ले कार्यकर्तामा उत्साह भर्न, सहिद परिवारलाई सम्मान गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेका बताएका छन् । अनारमनी नगरोन्मुख गाविसका पूर्व उपाध्यक्ष समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङवाको नेतृत्वमा करिब ४ सय जनावढी माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

सरकारमा लामो समयपछि माओवादीले प्रतिपक्षीको भूमिका निर्वाह गरेसँगै २०८४ लाई लक्षित गरी सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । प्रचण्ड २९ गते साँझ झापा आउने र ३० गते प्रशिक्षण कार्यक्रममा मुख्य बत्ताको रुपमा रहने पार्टीले जनाएको छ । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य हरिकुमार राना, ज्योतिसिंह दर्लामी, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), प्रदेश सदस्य पुरुषोत्तम चुडाल (राजु), हिक्मत घिमिरे, (डिल्ली), भवानीप्रसाद दंगाल, झापा सचिव मोहन टुडु (सरोज), झापा सदस्य प्रकाश भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्