News Portal

लकडाउन पालना गराउने क्रममा नाइजेरियामा झडप, १८ व्यक्तिको मृत्यु

रातोपोस्ट संवाददाता
६३२ पटक

नाइजेरिया। कोरोना भाइरस संक्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको लकडाउनको पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बताएको छ।

नाइजेरियाको ठूलो शहर लागोस र अबुजामा पूर्णरूपमा लकडाउन भएको छ भने अन्य केही राज्य र शहरमा अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन प्रशासनले नागरिकसँग आग्रह गरेको छ।

संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ।

मानव अधिकारवादी समूहले भनेको छ, “नाइजेरियामा बन्दाबन्दीको पालना गराउने क्रममा देशका विभिन्न राज्यमा झडपका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म संक्रमणका कारण मृत्यु भएका व्यक्तिको संख्याभन्दा बढी छ।”

अत्यधिक जनघनत्व रहेको अफ्रिकी मुलुक नाइजेरियामा आजसम्म ४०७ व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।

नाइजेरियाली राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय समयअनुसार गयरातिसम्ममा आफ्नो कार्यालयमा मानव अधिकार उल्लङ्घनका १०५ घटना दर्ता गराइएको छ र ती अधिकांश घटनामा सुरक्षाकर्मीबाट अनावश्यक बल प्रयोग गरिएको दाबी गरिएको छ।

“मुद्दामध्ये विभिन्न आठस्थानमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेकोले १८ जनाको मृत्यु भएको हो”, आयोगले भनेको छ। आयोगले मृत्यु संख्या सार्वजनिक भएभन्दा धेरै हुन सक्ने देखिएको उल्लेख गरेको छ।एएफपी

प्रतिकृया दिनुहोस्