News Portal

भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा, एकै दिन ६ हजार जनामा कोरोना संक्रमण

रातोपोस्ट
५१७ पटक

एजेन्सी। भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

त्यहाँ तीन हजार ३०२ जना संक्रमितको ज्यान गइसकेको छ।

निकै तीव्र गतिमा फैलिएपछि भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुगेको छ।

जारी लकडाउनका कारण त्यहाँका करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली देखिइन थालेको छ। मजदुरहरु भोकै मर्ने स्थिति आएपछि कोरोना संक्रमण जोखिमकै बीच भारत सरकारले ठूला शहरबाट उनीहरुलाई बसमार्फत घर पठाउने निर्णय गरेको छ।

यतिखेर भारतमा कोरोना भाइरस संक्रमण निकै तेज गतिमा बढिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। जो मानिसहरु ठूला शहरबाट आफ्ना घर गइरहेका छन्, उनीहरुमध्ये कैयौं मानिस कोरोना संक्रमित रहेको पाइएको छ।

मार्च महिनादेखि नै लकडाउन गरिएको भारतका मजदुरहरु यतिखेर आफूलाई जीवितै राख्ने संघर्ष गरिरहेका छन्। मजदुरहरुलाई पैदल जानबाट रोक्न त्यहाँको गृह मन्त्रालयले रेल चलाउने निर्णय गरेको छ।

भारतमा मंगलबार कोरोना संक्रमितको संख्या एक लाख नाघेको थियो, जुन चीनको भन्दा पनि धेरै हो। कोरोनाको केन्द्रबिन्दु बनेका मुम्बई, दिल्ली र अहमदावादबाट आफ्ना घरतर्फ लागिरहेका प्रवासी मजदुरहरुले सँगसँगै कोरोना भाइरस पनि बोकेर गइरहेका छन्।

रोयटर्सका अनुसार विहारका एक स्वास्थ्य अधिकारीले ७० प्रतिशतभन्दा बढी कोरोना संक्रमणका मामिला प्रवासी मजदुरहरुसँग सम्बन्धित रहेको बताएका छन्।

ओडिसा सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबारसम्म भेटिएका ९७८ वटा कोरोना संक्रमणका मामिलामध्ये ८५१ वटा मामिला अन्यत्रबाट आएका मानिसहरुमा देखिएको छ। सरकारका अधिकारीहरुले नै कोरोना महामारी भारतका लागि निकै ठूलो चुनौती बनिसकेको बताएका छन्।

प्रतिकृया दिनुहोस्