News Portal

दिल्ली पहिलो पटक आइपिएलको फाइनलमा

रातोपोस्ट संवाददाता
५८६ पटक

काठमाडौं, २४ कात्तिक । दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ। आइतबार राति भएको प्लेअफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो।

दिल्लीले इतिहास रच्दै पहिलो पटक फाइनल प्रवेश गरेको हो। अब आइपिएलको उपाधिको लागि दिल्लीले मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। १९० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो।

हैदरावादका लागि केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरे। उनले ४५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६७ रन बनाएपनि टिमलाई जिताउन सकेनन्। उनले अब्दुल सामदसँग ५७ रनको साझेदारी गर्दै जिततर्फ लगेका थिए तर केन विलियम्सन आउट भएसँगै हैदरावाद हार्न पुग्यो। अब्दुलले ३३, मनिष पाण्डेले २१ र प्रियम गार्गले १७ रनको योगदान दिए।

दिल्लीको जितमा बलिङतर्फ मुख्य भूमिका खेले मार्कस स्टोइनिस र कागिसो रबडाले। रबडाले चार ओभरमा २९ रन खर्चिएर चार विकेट लिए। त्यस्तै, स्टोइनिसले तीन ओभरमा २६ रन खर्चिएर तीन विकेट लिए।

अबुधावीमा यसअघि टस जितेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १८९ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवन, सिमरन हिटम्यर र मार्कस स्टोइनिसले उत्कृष्ट प्रदर्शन गरे। शिखर धवनले ५० बलमा ६ चौका र दुई छक्काको मद्दतमा ७८ रन बनाए। त्यस्तै, सिमरनले २२ बलमा अविजित ४२ रन बनाउँदा स्टोइनिसले २७ बलमा ३८ र कप्तान श्रेयस ऐयरले २१ रनको योगदान दिए।

धवन र स्टोइनिसले पहिलो विकेटको लागि ८६ रनको साँझेदारी गर्दै दिल्लीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बलिङतर्फ राशिद खान, जासन होल्डर र सन्दीप शर्माले समान १–१ विकेट लिए।

प्रतिकृया दिनुहोस्