News Portal

एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके पक्राउ

रातोपोस्ट संवाददाता
९७० पटक

काठमाडौं, ११ माघ । एसियाकै ठूलो लागू पदार्थ गिरोहका नाइके ‘द कम्पनी’ का मालिक सो चि लप पक्राउ परेका छन् । नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पुर्जीका आधारमा चीनमा जन्मिएका क्यानडाली नागरिक लपलाई पक्राउ गरेको हो । सो गिरोहले एसियाभरी हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो हिस्सा ओगट्छ।

संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई आम्सटर्डमस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको हो । अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ। अस्ट्रेलियाको संघीय प्रहरी (एएफपी) का अनुसार देशमा भित्रिने कुल लागुऔषधमध्ये करिब ७० प्रतिशत साम गोर सिन्डिकेट पनि भनेर चिनिने द कम्पनीबाट आउने गर्छ।

५६ वर्षीय सोलाई उनको अवैध साम्राज्यको आकारका कारण मेक्सिकोका लागूऔषध कारोबारी ह्वाकिन ‘एल च्यापो’ गुज्मानसँग तुलना गरिएको छ। एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका सो शुक्रवार क्यानडा जान लागेका बेला विमानस्थलबाट पक्राउ परेका हुन् । उनको नाम उल्लेख नगरिएको एउटा वक्तव्यमा प्रहरीले ती सन्दिग्धविरुद्ध सन् २०१९ मा एउटा पक्राउपुर्जी जारी भएको जनाएको छ। जसमा डच प्रहरीले इन्टरपोलको सूचनामा काम गरिरहेको उल्लेख छ।

डच प्रहरी प्रवक्ताले भने, ‘उनी पहिलेदेखि नै अधिक खोजी गरिएका व्यक्तिको सूचीमा थिए र हामीले गोप्य सूचना पाएका आधारमा उनलाई पक्राउ ग¥यौँ।’ सन् २०१९ मा समाचारसंस्था रोएटर्सले सोबारे एउटा विशेष अनुसन्धान सामग्री प्रकाशित गरेको थियो। त्यसमा उनलाई एशियाका सबैभन्दा बढी खोजी गरिएका व्यक्तिका रुपमा उल्लेख गरिएको थियो । सोको समूहले मेट्याम्फेटमिन बिक्रीबाट मात्र सन् २०१८ मा १७ अर्ब डलरभन्दा बढी रकम आम्दानी गरेको राष्ट्रसंघको अनुमान छ । उनलाई पक्राउ गर्न विश्वभरका करिब २० वटा निकायले सहकार्य गरेको रोयटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्