News Portal

धोनीले ९६ मिटर लामो छक्का हिर्काउँदै चेन्नईलाई जीत दिलाए

एजेन्सी
७७१ पटक

काठमाडौं,१५ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनायो । जवाफमा चेन्नईले सो लक्ष्य १९.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

चेन्नईका लागि ओपनरद्वय रुतुराज गाइकवाड र फाफ डु प्लेसिसले उत्कृष्ट सुरुवात गरे । गाइकवाडले ४५ तथा डु प्लेसिसले ४१ रनको योगदान दिए । अम्बाती रायडू र महेन्द्रसिंह धोनीले नटआउट रहँदै क्रमशः १७ र १४ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्‍याए । धोनीले २० औँ ओभरको चौथो बलमा ९६ मिटर लामो छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । हैदराबादका लागि जेसन होल्डरले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादका लागि ऋद्धिमान साहाले सर्वाधिक ४४ रन बनाए । अभिषेक शर्मा र अब्दुल सामादले समान १८–१८ रनको योगदान दिए । प्लेयर अफ द म्याच चुनिएका जोस हेजलवुडले चेन्नईका लागि ३ विकेट लिए ।जीतपछि चेन्नईको ११ खेलबाट १८ अङ्क पुगेको छ । लिग राउन्डपछि टोली शीर्ष २ मा रहने सम्भावना बलियो बनेको छ । उता ११ खेलमा नवौँ हार बेहोर्दै हैदराबाद अङ्क तालिकामा पुछारमा रहेको छ । उसको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

प्रतिकृया दिनुहोस्