News Portal

अन्तर्राष्ट्रिय सुन्तला महोत्सव कोलकातामा सुरू

रातोपोस्ट संवाददाता
२४७ पटक

झापा, २४ मंसिर । पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव भारतको कोलकातामा सुरू भएको छ । सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २३ गतेदेखि कोलकाताको साल्ट लेक सिटिसेन्टरमा सुरू भएको हाे । शुक्रबारदेखि सुरू भएको तीनदिने सुन्तला महोत्सव २५ गतेसम्म हुने एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुन कुमार कार्कीले बताए ।

नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।

महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए । हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २ सय जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिएका संयोजक कार्कीले बताए ।

उनले देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भूटान र बंगलादेशको पर्यटकहरुलाई नेपालमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।

सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचमा आएकोे दूरी थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो । उक्त प्रभावलाई निवारण गर्न र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षक बनाएर यो महोत्सवको सुरु भएको आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्