मेचीनगर । एक समय थियो । देशकै पूर्वी सिमान्त सहर काँकरभिट्टा खानेपानीको प्यासमा थियो । अहिलेजस्तो जताततै खानेपानीका बडेमानका ट्यांकी बनेका थिएनन् । न घरैपिच्छे थिए, खानेपानीका धाराहरु । उपभोक्तालाई शुद्ध पानी घरघरमा पुर्याउने खानेपानी संस्थाहरु स्थापनाको सुरसार थिएन सायदै ! अनि काँकरभिट्टा तिर्खाको गहिरो प्यासमा भारबाट आउने पानी पर्खिन्थ्यो ।
त्यसैबेला भारबाट पानी बोकेर काँकरभिट्टाको तिर्खा मेट्नेहरुले सधँै काँकरभिट्टालाई पानी खुवाइरहे । कहिले अल्छी गरेनन्, न हार नै माने । यदि त्यसो भएको हो त ! काँकरभिट्टा सधँै भारको पानी पर्खिरहेको हुन्थ्यो ।
तर, अहिले त्यस्तो छैन । काय फेरियो, समय फेरियो । अनि फेरियो सहरको मुहार पनि । आज काँकरभिट्टालाई त्यो भारको पानीको आवश्यक छैन । न फुर्सद नै छ त्यो भारको पानी बोकेर सहरलाई खुवाउने । अहिले त घरघरमा धारा पुगेको छ । धारा खोल्ने बित्तिकै बिजुली शैलीमा आइपुग्छ खानेपानी । अनि काँकरभिट्टाले किन सम्झिन्थ्यो र ? भारमा पानी बोकेर काँकरभिट्टाको तिर्खा मेटाउने धुम्मलाल राजवंशी, कप्तान राजवंशी लगायतका अन्य व्यक्तिहरुलाई ।
यो त इतिहास हो । वर्तमानले त कोल्टे फेरिसकेको छ । तर, यही वर्तमानबीच काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले त्यो इतिहासलाई सम्झिएको छ । संस्थाले आफ्नो २९ औं वार्षिक साधारण सभामा भारबाट पानी बोकेर काँकरभिट्टाको तिर्खा मेटाउने ऐतिहासिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
शुक्रबार संस्था परिसरमा आयोजित साधारण सभामा उमेरले समेत कोल्टे फेरिसकेका ७६ बर्षीय धुम्मलाल राजवंशी र ७९ बर्षीय कप्तान राजवंशीलाई नगदसहित सम्मान गरेको छ । काँकरभिट्टाको जग बसाल्न गरेको परिश्रम, सहर स्तरोन्नतिमा पुर्याएको योगदान लगायतको चर्चा गर्दै संस्थाले जनही ५ हजार नगदसहित दुई व्यक्तित्वलाई सम्मान गरेको हो । संस्थाको यस कार्यसँगै काँकरभिट्टाले इतिहास सम्झने चरणको सुरुवात गरेको समेत कार्यक्रममा बोल्ने वक्ताहरुले उद्घोष गरेका छन् ।
सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद विश्वप्रकाश शर्माले सम्मान पत्र प्रदान गरेका थिए । यसैगरी, कार्यक्रममा उत्कृष्ट उपभोक्तातर्फ दुई उपभोक्तालाई सम्मान गरियो भने उत्कृष्ट कर्मचारीतर्फ एक कर्मचारीलाई नगद ७ हजारसहित सम्मान गरियो ।
उपभोक्तातर्फ मेचीनगर–६ निवासी पूर्णबहादुर राई र मेचीनगर–३ निवासी रमा भण्डारीलाई सम्मान गरियो भने उत्कृष्ट कर्मचारीतर्फ छविलाल लिम्बु सम्मानित भए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले इतिहासलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । ‘भारबाट पानी बोकेर तिर्खा मेटाउने यथार्थ इतिहास मात्रै होइन । अवस्थाप्रतिको ज्ञान पनि हो । हामी कुन अवस्थामा थियौं र आज कुन अवस्थामा छौं । यसप्रतिको ज्ञान पनि हो । आज इतिहासलाई सम्मान गर्न पाउँदा एकदमै खुशी लागेको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले देशको राजनीतिलाई पनि सम्झिए । इतिहास र वर्तमानलाई हेर्दा गल्ती धेरै भएको उल्लेख गर्दै उनले अब ती गल्तीहरुलाई सच्याउनतर्फ लाग्नुपर्ने धारणा राखे । ‘कसैले कसैलाई दोष लगाउने होइन । सबै लागेर त्यस गल्तीलाई सच्याउने हो । देशमा केही भएकै छैन, केही हुँदै हुँदैन भन्ने होइन । केही भइरहेको छ । त्यसलाई आत्मसाथ गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरिरहेका कार्य, संस्थाका चुनौती तथा अवसरका बारेमा स्पस्ट पारे । प्रतिवेदनमार्फत उनले संस्थाको वर्तमान अवस्था र अब गर्नुपर्ने कार्यहरुका बारेमा समेत सभामा जानकारी गराएका छन् ।
संस्थाका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शर्मासँगै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका डिभिजन प्रमुख सुरतलाल चौधरी, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य, नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर इन्चार्ज देवकुमार राई, नेकपा माओवादी केन्द्र क्षेत्रीय इन्चार्ज प्रकाश भण्डारी, जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष धनकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर कार्यवाहक अध्यक्ष होमबहादुर विष्ट, बुधबारे खानेपानी संस्थाका अध्यक्ष ध्रुव ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका पदाधिकारीहरु, उपभोक्ताको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु, पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका पदाधिकारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विशाल तामाङले गरेका थिए । बोर्डरल्यान्ड दैनिकबाट