News Portal

महामन्त्री शर्माद्वारा कोशी प्रदेशकै लामो झोलुङ्गे पुलको उद्घाटन

रातोपोस्ट संवाददाता
२४ पटक

झापा, २५ पुस । काेशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको झापाको बुद्धशान्तिमा उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्यास समेत महामन्त्री शर्माले ५ महिना पहिले गरेका थिए। टिमाई खोलामा बनेको सो पुलको लम्बाई ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको जनाइएको छ ।

पुल उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । कोशी प्रदेशकै लामो उक्त झोलुङ्गे पुल उद्घाटन पूर्व नै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको थियो । थानी जगदम्बा जेभीले पाँच महिनामै निर्माण सम्पन्न गरेको हो ।

पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ भने पुलबाट एक पटकमा ६४७ जनाले ओहोरदोहोर गर्न मिल्ने बताइएको छ । पछिल्लो समय झापामा समेत झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको छ ।

प्रतिकृया दिनुहोस्