मेचीनगर, २ माघ । सरदार बाँतर समाज विकास समिति मेचीनगरले विशेष उत्सवका रुपमा माघी संक्रान्ति पर्व मनाएको छ । झापाको मेचीनगर–७ गहिरीगाउँमा जातीय भेषभुषा, भाषा, धर्म संस्कृतिको संरक्षण एवं विश्वभरिका सरदार बाँतरहरुको एकताका रुपमा पर्व मनाइएको हो । माघी समारोहमा मेचीनगर उपपमुख मीना पोखरेल उप्रेती लगायत सहभागी भएका थिए ।
सरदार बाँतरहरुले जातीय पोशाक लगाएर नाचगान गरेका थिए । उनीहरुले आफ्नो संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका हुन् । सरदार बाँतर समाज विकास समिति मेचीनगरले आयोजना गरेको तिला संक्राइत माघी विशेष पूजा कार्यक्रममा काँकरभिट्टाका सशस्त्र प्रहरी प्रमुख लोकनाथ उप्रेती, काँकरभिट्टा प्रहरी प्रमुख मिमबहादुर लामा, समाजसेवी ओमप्रकाश खापुङ, सरदार बाँतर संघर्ष समितिका अध्यक्ष रामकुमार बाँतर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सभापति राजकुमार बाँतरले गरेका थिए भने सञ्चालन किरन कन्दङ्वाले गरेका थिए । आयोजक सरदार बाँतर समाज विकास समिति काँकरभिट्टा रहेको थियो भने सहयोगी सरदार बाँतर संघर्ष समिति नेपाल रहेको थियो । कार्यक्रममा बाँतर समाजका दशजना जेष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।