मेचीनगर । बजारमा व्यापरिक चहलपहल छैन । धुँवा र धुलोबाट कसरी जोगिने ? दौडधुप छ । अधिकांश सटर महिनौं भयो बन्द जस्तै छन् । खुलेका सटरमा पनि किनमेलको माहोल छैन । निर्माण कार्यका लागि सडक लथालिंग बनाइएको छ । व्यापारिक माहोल चौपट बनेको छ भने व्यवसायीहरु ग्राहक कुरिरहेको अवस्थामा भेटिन्छन् ।
व्यापारका सन्दर्भमा छुट्टै पहिचानका साथ गुल्जार र सधैं भिडभाड बन्ने धुलाबारी बजारको अवस्था करिब २ महिना भयो, यो भन्दा फरक छैन । धुलाबारीबाट उत्तर जाने सहिद मार्ग स्तरोन्नतिका लागि सडक भत्काउँदा त्यहाँको व्यावसायिक माहोल तितरबितर बनेको हो ।
‘बालेन शैली’मा डोजर लिएर धुलाबारी बजार पुगेको हाम्रो स्थानीय सरकार बाटो भत्काएपछि त्यहाँको व्यापारिक माहोल कस्तो बनेको छ ? सायदै जानकार छ । सडकको पूर्वी खण्डमा ‘डे«न’ निर्माणका लागि खाल्डो बनाइएको छ भने विभिन्न स्थानमा निर्माण सामाग्री राखिएको छ । बाटो भत्काइएका कारण खपिनसक्नुको धुलो उड्छ । स्थानीय व्यापारिहरु धुलोबाट बच्न मास्क लगाएर पसलमा बस्छन् ।
धुलाबारी मोडबाट उत्तर जाँदा अलिक मास्तिर रुखको छहारीसँगै दोबाटो छ । सडक स्तरोन्नतिका लागि त्यस दोबाटोको दक्षिण भागमा निर्माण कार्य भइरहेको छ । त्यस उत्तर बजार सिरानसम्म कुनै निर्माण कार्य भएको छैन । बजार सिरान उत्तर फेरि लगातार रुपमा निर्माण कार्य भइरहेको छ ।
सडक नभत्काइएको र निर्माण कार्य नभएको ठाउँमा व्यापरिक चहलपहल उत्तिकै छ । तर, मोडबाट रुखको छहारीसम्मको जुन भाग छ, त्यहाँ माहोल चौपट बनेको छ । स्थानीय व्यवसायी समेत रहेका गोपाल पोदार पसल अगाडि ठुलो खाल्डो भएका कारण बाँसको चाङ बनाएर व्यवसाय गरिरहेको बताउँछन् ।
‘नाला बनाउनका लागि यत्रो ठुलो खाल्डो बनाइएको छ,’ सडक किनारमा बनाइएको उक्त खाल्डो देखाउँदै उनी भन्छन्, ‘यहाँ त ग्राहक आउनै डराउँछन् । अनि कसरी चल्छ व्यवसाय ?’ उनको दर्शन इलेक्ट्रोनिक्स पसल छ । जहाँ इलेक्ट्रोनिकका विभिन्न सामानहरु राख्नपर्ने हुन्छ । पसल अगाडि खाल्डो भएका कारण बाँस तेस्र्याएर त्यसमाथि प्लाई राखी त्यसमाथि सामान राखेर उनले व्यवसाय गरिरहेका छन् ।
उनको मात्रै होइन, यस क्षेत्रका अधिकांश व्यवसायीको अवस्था यस्तै छ । उनीहरुको जोडदार माग छ, कि सडकको निर्माण कार्य निरन्तर हुनुपर्यो । कि व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्यो । अर्का एक व्यवसायीका अनुसार धेरै दिन भयो । यहाँ निर्माण कार्य पनि रोकिएको छ । निरन्तर रुपमा कार्य भइरहेको छैन ।
सम्बन्धित निकायको लापरवाहीले व्यवसाय प्रभावित बनेको भन्दै उनीहरुले केही दिनअघि यस सडक नै अवरुद्ध गरेका थिए । तर, निर्माण कार्य निरन्तर जारी राख्ने सर्तमा अवरोध हटाए । तर पनि निर्माण कार्य निरन्तर नभइरहेको उनीहरु बताउँछन् । बोर्डरल्यान्ड दैनिकबाट