News Portal

झापा गोल्डकपबाट बाहिरियो थ्री स्टार, संकटा सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
६६९ पटक

झापा, २४ फागुन । संकटा क्लब काठमाडौँ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए । खेलको ३६ औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

४६ औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको ७० औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । तेस्रो क्वार्टरफाइनल खेल अन्तर्गत बुधबार त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।

प्रतिकृया दिनुहोस्