News Portal

निन्दामा छठको रौनक बढ्यो, निन्दा नदी सिँगारिँदै

रातोपोस्ट संवाददाता
४०३ पटक

झापा, १२ कार्तिक । झापाकाे मेचीनगर स्थित निन्दा नदिमा छठ पर्वको तयारी पूरा भएको छ। धुलाबारी स्थित निन्दा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पूजाको घाट व्यवस्थापन लगायतका कामहरू पूरा भएको हो।

नदी किनारामा विभिन्न स्टलहरू निर्माण गरी आकर्षक बनाइएको छ। नदी किनारामा दैनिकजसो सरसफाई, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको छ।

धुलाबारी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रलाल कर्णका अनुसार सामान्य प्राविधिक कामबाहेक सबै पूरा भएको उनले बताए । मुख्य घाट व्यवस्थापन, मूर्ति स्टल निर्माण, मुख्य तथा सहायक प्रवेशद्वार, बिजुली बत्ती, साउण्ड सिस्टम लगायतका काम पूरा भएको उनले जानकारी दिए ।

पूजा स्थल तथा तलाउका घाटहरूलाई आकर्षक रूपमा सजाइएको छ। नहाय खायसँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ। पर्वलाई विगत वर्षभन्दा अझ उत्कृष्ठ बनाउन सबै घाटमा समान तरिकाले वितरण गरिएकाे अध्यक्ष कर्णले बताए ।

कात्तिक १३ गते अर्थात आइतबार निन्दा नदी किनारामा अस्ताउँदो सुयलाई अर्घ दिई रातभर जाग्राम बसेर पूजाआरधना गरिने छठ पूजाका लागि करिब २ सय ५१ घाटकाे व्यवस्थापन गरिएको समितिका सचिव श्रवण कुमार शाहले जानकारी दिए।

समितिले बिहानैदेखि समाजसेवीको सहभागितामा नदी आसपासका क्षेत्रका फोहर सरसफाइ गरिरहेको छ । त्यसैगरी छठलाई लक्षित गर्दै चोकचोकका व्यापार व्यवसाय बढाइएको छ। छठका अवसरमा पूजा सामग्री तथा फलफूलको व्यापार ह्वात्तै बढेको छ। छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ।

विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादका रूपमा चढाइन्छ।

नहाय खायसँगै सुरु हुने छठ पर्वको दोश्रो दिन व्रतालुहरू दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने गर्दछन्। जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ। षडनाको प्रसाद सपरिवार सँगै बसेर खाने चलन छ। षडनापछि निराहार व्रत बस्नेहरूले भोलिपल्ट अस्ताउँदो सूर्य पूजा र पर्सिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गर्ने प्रचलन रहेको छ।

प्रतिकृया दिनुहोस्