News Portal

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रातोपोस्ट संवाददाता
१५ पटक

काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।

प्रतिकृया दिनुहोस्