News Portal

राेल्पामा राहत माग्न आएकालाई वडाध्यक्षले खुकुरी प्रहार गरे

रातोपोस्ट संवाददाता
७३४ पटक

रोल्पा। रोल्पामा रहेकाे एक गाउँपालिकाका वडाध्यक्षले राहत माग्न आएकालाई खुकुरी प्रहार गरेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ त्यसै वडाका स्थानीय गुरु प्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् ।

लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएको भन्दै मजदुर मानसिङ थापासहित त्यहाँ पुगेका आफुहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग गरेपछि वडाध्यक्षले सुरुमा मानसिङलाई मुक्का प्रहार गरेको र छुटाउन जाँदा आफू माथि वडाध्यक्षले खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले बताए ।

गुरुप्रसाद र मानसिङलाई बचाउन जाँदा छिमेकी ग्वाता थापा समेत घाइते हुनुभएको छ । घुँडामा गहिरो चोट लागेका थापाको अहिले होलेरीस्थित एक निजी क्लिनिकमा उपचार भइरहेको छ । वडाध्यक्ष थापाले मोबाइल फोन समेत खोसेर १५ हजार रुपैयाँमा जबरजस्ती मिलापत्र गर्न बाध्य पारेको पीडितको भनाइ छ ।

मिलापत्र नगरी उपचार गर्न नजानू भनेका थिए’, पीडित थापाले भन्नुभयो, ‘तर गम्भीर चोट लागेकाले उपचार गर्न आएँ ।’
उपचारपछि पीडित थापाले इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी गर्ने बताए । वडाध्यक्ष थापा तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् । उनी यसअघि पनि पटक पटक यस्ता क्रियाकलापमा संलग्न हुँदै आएका छन्।

प्रतिकृया दिनुहोस्