News Portal

सरकारी एम्बुलेन्सकाे दुरुपयोग, निजी काममा समेत एम्बुलेन्स

पत्रपत्रिका
५७६ पटक

जुम्ला,२७ असाेज। जुम्लामा बिरामी बोक्ने एम्बुलेन्स दुरुपयोग भएको छ। बिरामी बोक्नुको साटो गाउँपालिकाका कर्मचारीले आफ्नो निजी काममा  एम्बुलेन्स प्रयाेग गरेको आजकाे अन्नपुर्णपाेष्टमा खबर छापिएकाे छ।

तातोपानी गाउँपालिकाको ऐरानीमा हिमा गाउँपालिकाको ना.अ.प.च.२२६ नम्बरको एम्बुलेन्स पुग्यो। तर उक्त एम्बुलेन्समा बिरामी भने थिएनन्। एम्बुलेन्सले हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी बोकेर ल्याएको थियो।

कर्मचारीले आफ्नो गाउँपालिकाबाट तातोपानी गाउँपालिकासम्म फुटबल खेल्न आउँदा प्रयोग गरेका हुन्। गाउँपालिकाले केहीदिन अघिमात्र उक्त एम्बुलेन्स खरिद गरेको थियो। तर हाल यो एम्बुलेन्स गाउँपालिकाको स्थानीयका सेवाभन्दा गाउँपालिकाकै कार्यकारीसहित अन्य कर्मचारी बोक्ने सवारीसाधनका रुपमा प्रयोग भइरहेको छ।

शनिबार हिमा गाउँपालिका र तातोपानी गाउँपालिकाले संयुक्त कर्मचारी मैत्रीपूर्ण फुटबल आयोजन गरेको थिए। तातोपानी गाउँपालिकाको ऐरानी भन्ने स्थानमा आयोजना भएको फुटबल प्रतियोगितामा हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलसहित अन्य कर्मचारीले उक्त स्थानसम्म लिनुपर्ने भनेपछि उनीहरूलाई ऐरानीसम्म ल्याएको एम्बुलेन्सका चालकले बताए। गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था नगर्दा हिमा गाउँपालिकाका स्थानीयबासी महँगो रकम तिरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बजार आउन बाध्य थिए।

भर्खरै मात्र गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेपछि हिमाबासीले केही राहत महसुस गरेका बेला गाउँपालिकाकै प्रमुख कार्यकारीसहित अन्य कर्मचारीले शनिबार मात्र नभई अन्य दिनसमेत आफनो निजी काममा एम्बुलेन्स प्रयोग गर्न थालेपछि स्थानीयबासीले सास्ति भोग्नु परेको एक स्थानीयले आरोप लगाए।

शनिबारसमेत कर्मचारीले एम्बुलेन्स प्रयोग गरेर फुटबल खेल्न गएको आफूलाई जानकारी नभएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए। उनले बिरामी बोक्ने एम्बुलेन्स कर्मचारीले निजी काममा प्रयोग गर्न नहुने बताए।

प्रतिकृया दिनुहोस्