News Portal

प्रधानमन्त्री कप : एपिएफलाई हराउँदै प्रदेश नम्बर १ ले जित्यो उपाधि

रातोपोस्ट संवाददाता
१०७६ पटक

काठमाडौं, १९ पुस । प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ। एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जितेको हो। प्रदेश नम्बर १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफले पूरा २० ओभर खैल्दै ७ विकेट जाँदा ९९ रन मात्र बनाउन सक्यो।

३० बलमा ३६ रन चाहिएको अवस्थामा बढेको एपिएफले अन्तिम ६ बलमा १३ रन बनाउनुपर्ने चुनौतीसम्म पुगेको थियो। जहाँ प्रदेश नम्बर १ ले सम्हालिएको बलिङ गर्दै उपाधि जितेको छ। उपाधिसँगै प्रदेश नम्बर १ ले पाँच लाख रुपैयाँ पाउनेछ।

एपिएफका लागि ज्योति पाण्डेले १५ बलमा १४ रन, इन्दु बर्माले ८ बलमा ७ रन, सरिता मगरले ५ बलमा ६ रन, सोनु खड्काले १ बलमा १ रन, ममता चौधरीले ४७ बलमा ३४ रन, करुणा भण्डारीले ३६ बलमा २६ रन बनाए। चोटमा रहेकी कप्तान सीता राना मगर पछिल्लो क्रममा ब्याटिङमा आएर ३ बलमा २ रन बनाइन्।

प्रदेश नम्बर १ का लागि रुबिना क्षेत्री र एलिशा खडियाले दुई–दुई साथै संगीता राईले एक विकेट लिइन्। दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाएको थियो। जसमा अप्सरी बेगमले ४५ बलमा ३४ रन साथै रुबिना क्षेत्रीले ३२ बलमा १८ रन बनाए। काजल श्रेष्ठले २६ बलमा अविजित २९ रन बनाइन्। एपिएफका लागि सीता राना मगरले तीन साथै करुणा भण्डारीले एक विकेट लिइन्।

शनिबार भएको सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो। प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको थियो। ८ टिम सहभागी प्रतियोगितामा गण्डकी प्रदेश र कर्णाली प्रदेश एक खेल नजिति बाहिरिएका थिए भने वागमती प्रदेश र प्रदेश नम्बर २ ले एक–एक खेल जितेका थिए।

प्रतिकृया दिनुहोस्