News Portal

राष्ट्रिय महिला लिग फुटबलमा पुलिसको जित

रातोपोस्ट संवाददाता
१२९८ पटक

काठमाडौं,  ९ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । उसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि रेखा पौडेल, सिर्जना खड्काले २–२ गोल गर्दा अमृता जौशी र निर्मला विकले १–१ गोल गरे । खेलको २८ औं मिनेटमा निरु थापाको क्रसमा रेखाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । ४१ औं मिनेटमा अमृताको गोलबाट पुलिसले अग्रता दोब्बर बनायो । ४५ औं मिनेटमा सिर्जना र थप गरिएको समयमा निर्मलाले पुलिसका लागि तेस्रो र चौथो गोल गरे ।

पहिलो हाफमा ४–० ले अगाडि रहेको पुलिसले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ८९ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरिन् । दोस्रो हाफको थप गरिएको समयमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ६–० सहज जित दर्ता गरेको हो ।  जितसँगै पुलिसले प्रतियोगितामा २ खेलबाट ४ अंक जोडेको छ । उसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग गोल रहित बराबरी खेलेको थियो । चौदण्डीगढीको यो पहिलो खेल हो ।

प्रतिकृया दिनुहोस्