News Portal

विप्लवले भेटे कारागार रहेका दाजुलाई

रातोपोस्ट संवाददाता
६०० पटक

चितवन, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका दाजुलाई भेट गरेका छन् । । उनले आज चितवन कारागारमा रहेका दाजु चन्द्रबहादुर चन्दलाई भेट गरेका हुन् ।

कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि उनी कारागारमा थिए । नवलपरासीको सुस्ता पश्चिमबाट पक्राउ परेका चन्द्रलाई उपचार गर्नुपर्ने भएपछि यहाँ ल्याइएको हो । दाजुभाइको भेटसँगै रहेका काफ्लेले दाजुलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराएका थिए। सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उनले दाजुलाई गराएका थिए ।

झण्डै आधा घण्टाको भेटमा उनले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताए । दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना संक्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराएका थिए । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरु छुट्ने भएका हुन् । भूमिगत रहेका नेता कार्यकर्ता भने शुक्रबारबाट सार्वजनिक भएका छन् । यस कारागारमा सो पार्टीका बन्दी चन्द्र मात्र रहेका थिए ।

प्रतिकृया दिनुहोस्