News Portal

झापा ११ झापा गोल्डकपको फाइनल प्रवेश

रातोपोस्ट संवाददाता
३४७ पटक

झापा, २८ फागुन । घरेलु टोली झापा ११ विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा संकटा क्लब काठमाडौंलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।

झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।

जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलम भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।

झापाले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । ५५ औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाए । ५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरियो ।

८७औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन् । विशाल राईको पासमा गोलरक्षकसँग वान भर्सेज वान रहेका बर्तौलाले गोल गर्न सकेनन् । खेलमा संकटाले बनाएका मुभ विपक्षी टिम खेलाडले विफल बनाए ।

संकटाले खेलको २३ औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीपक कार्कीले बचाए । ३० औँ मिनेटमा संकटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए । ३२ औँ मिनेटमा संकटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए ।

८१ औँ मिनेटमा संकटाका दिपेश आलेमगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको अतिरिक्त समयमा फोडे फोफोनाले गरेको शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए ।

शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विमल घर्तीमगर घोषित भए । उनले नगद ९ हजार ९९९ पाए । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्