News Portal

विधार्थीलाई यौन दुर्व्यवहार गरेकाे आरोपमा शिक्षक पक्राउ

रातोपोस्ट संवाददाता
६९९ पटक

झापा, १२ चैत्र । झापामा १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत छात्रालाई शुक्रबार दिउँसो विद्यालयभित्रै शिक्षक सिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक सिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेका थिए ।

यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएकी थिइन्। आक्रोशित बनेका अभिभावक र छिमेकीहरू घटना बुझ्न विद्यालय पुगेका थिए । उनीहरूले यौनजन्य दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय समेत घेराउ गरेका थिए । आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका थिए ।

यता घटना घटेलगत्तै प्रहरी चौकी गोलधाप र प्रहरी कार्यालय झापाका प्रहरी टोली घटनास्थल पुगेका थिए। घटना बुझेपछि प्रहरीले शिक्षक सिवाकोटीलाई शुक्रबार बेलुका घरबाटै पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ। पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्