News Portal

विमान दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्- शव चिनिने अवस्थामा छैनन्

रातोपोस्ट संवाददाता
४०२ पटक

मुस्ताङ, १६ जेठ । आइतबार बिहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । स्थानीय इन्द्रसिंङ शेरचनलगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’ उनी राति नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएको छ। अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ। घटनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर- ३ का स्थानीय युवा सुमित गौचनले घटनास्थलमा कोही पनि जिवित नभेटिएको बताएका छन्। उनले भने, ‘अहिलेसम्म १२ जनाको शव भेटिएको छ। अरुको खोज्दै छौं।’ उनले शवहरु क्षतविक्षत अवस्थामा भेटिएको बताए।

आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए । जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो । जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए। जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए।

यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ। बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो। थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेका हुन्।

प्रतिकृया दिनुहोस्