News Portal

झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको सालिक अनावरण

रातोपोस्ट संवाददाता
२३२ पटक

झापा, १७ भदौ । झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको बाहुनडाँगीमा निर्मित सालिकको शुक्रवार अनावरण गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका काँग्रेसका नेताहरुले शालिक अनावरण गरेका हुन् ।

सो कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब मुलुकमा थप बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो भएको बताएका छन् । उनले मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता औँल्याए ।

२०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले एक्लै पारी गोली हानेर नेपाली काँग्रेसका नेता, महामानव वीपी कोइरालाका प्रियपात्र एवम् तत्कालीन बाहुनडाँगीका जनप्रिय प्रधानपञ्च विश्वनाथ घिमिरेको हत्या गरेका थिए । तिनै घिमिरेलाई नेपाली काँग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको छ । सहादत भएको ६० वर्षपछि सालिक निर्माण भएको हो ।

अञ्चलाधीशको आदेशमा घिमिरेलाई काम छ भनी चन्द्रगढी बोलाएर लैजाँदै गर्दा बाटैमा गोली हानेर हत्या गरिएको नेपाली काँग्रेसका पूर्व उपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले जानकारी दिए । सालिक निर्माणमा १४ लाख ६३ हजार ९४७ रुपैयाँ खर्च भएको सालिक निर्माण आर्थिक समितिका संयोजक ममोहन निरौलाले जानकारी दिए । सालिक निर्माणका लागि सहिद घिमिरेका नाति निरज घिमिरेले साढे तीन धुर जग्गा दान दिएका थिए ।

अनावरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाई, पार्टीका प्रदेश नं. १ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबेलगायतले मन्तब्य राखेका थिए । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना उप्रेती, नेकपा एकीकृत समाजबादीकी सविता भण्डारी लगायतले सो अवसरमा धारणा व्यक्त गरेका थिए । शहिदका २ जना परिवारलाई अभिनन्दन गरिएको छ । जस्मा शहिदका स्व.जेठा छोरा ठाकुरप्रसादकी श्रीमती धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तथा सहिद विश्वनाथ घिमिरेका नाति निरज घिमिरेले गरेका थिए भने सभापतित्व प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्