News Portal

पानी बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुर्गापुरमा १ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
१७४ पटक

झापा, ४ साउन । झापाको कनकाईमा पानी बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी अन्दाजी ३० वर्षीय कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-१ स्थित दुर्गापुरमा बिहीबार बिहान ७:१० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०१-००१च ७४०७ नम्बरको छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको प्र-१-०१-०१६ प ५०९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी रिजालले बताए। दुवै सवारीसाधनसहित गाडी चालक कनकाई नगरपालिका ४ निवासी ३३ वर्षीय पशुपति ओलीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ।

यसै क्रममा दुर्घटना स्थलमा समाचार सङ्कलन गर्न पुगेका स्थानीय पत्रकार सीएम शर्मालाई सादा पोसाकमा रहेका प्रहरीले दुर्व्यवहार गरेका थिए। पत्रकार शर्माले फोटो खिच्ने क्रममा उनको मोबाइल फोन प्रहरीले खोस्ने प्रयास गरेपछि केहीबेर विवाद उत्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्