News Portal

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

रातोपोस्ट संवाददाता
१४९ पटक

काठमाडौँ, ५ भदाै । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए ।

शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ सरकारी अधिकारीहरु उपस्थित थिए । तर उपसभामुख इन्दीरा रानामगर भने सहभागी भइनन् । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्ने छन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए । त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए ।

०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् । उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् । संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

प्रतिकृया दिनुहोस्