News Portal

कविशिरोमणिमा कक्षा ११ र १२ अब दिउँसो

नवराज सुवेदी
२२१ पटक

मेचीनगर, १९ भदौ । मेचीनगर–९ स्थित कविशिरोमणि माविको शैक्षिक गुणस्तर सुधारका लागि पहल शुरु भएको छ । मंगलबार विद्यालय व्यवस्थापन समितिको पहलमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नीतिगत निर्णयहरु भएका छन् ।

समितिकी अध्यक्ष संगीता थापाले दिएको जानकारी अनुसार विहानीपख सञ्चालन हुँदै आएको कक्षा ११ र १२ को पठनपाठन अब दिउँसो सञ्चालन गरिने भएको छ । भदौ २४ गतेदेखि विहान १० बजेबाट २ बजेसम्म कक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

कक्षा ११ र १२ को दिउँसो कक्षा सञ्चालन गर्दा आर्थिक व्ययभार घट्ने र शैक्षिक गुणस्तर बढ्ने विद्यालय प्रशासनको बुझाई छ । यस्तै, कक्षा ११ र १२ को भर्ना शुल्क (वार्षिक) पनि घटाइएको छ । कक्षा ११ को बार्षिक शुल्क १४ हजार लिइँदै आएकोमा अब ६ हजारमा पुरै एक बर्ष विद्यार्थीले पढ्न पाउँनेछन् । विद्यार्थी भर्नामा ५५ प्रतिशतले छुट दिने निर्णय भएको अध्यक्ष थापाले बताइन् ।

विद्यालय व्यवस्थापन समितिको पहलमा सरोकारवाला तथा कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीका अभिभावकलाई बोलाएर छलफल गरिएको हो । छलफलका क्रममा सरोकारवालाको सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने निर्णय गरिएको उनको भनाई छ ।

यस्तै, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ५ बर्षे कार्ययोजना बनाएर अघि बढ्ने जनाइएको छ । बार्षिक कार्ययोजना बनाएर पठनपाठनमा व्यापक सुधार ल्याउने नीति अन्तर्गत उक्त निर्णयहरु गरिएका हुन् ।

छलफलमा मेचीनर–९ का वडाध्यक्ष कञ्चन तामाङसहित वडा सदस्यहरु, सामाजिक व्यक्तित्व प्रकाश भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष चुडामणि रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका तमाम विषयहरुमा पटक–पटक छलफल तथा बैठकहरु सञ्चालन गरिएका छन् । यसैक्रममा गत भदौ ६ गते अभिभावकसँग अन्तरक्रिया गरिएको थियो भने आउँदो भदौ २४ गते शिक्षक तथा कर्मचारीसँग छलफल कार्यक्रम समेत राखिएको छ ।

एक हप्ताअघि कविशिरोमणि माविको शैक्षिक गुणस्तर खस्किएको भन्दै अभिभावक तथा सरोकारवालाहरुले विद्यालय व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस लगत्तै विद्यालय समिति शैक्षिक सुधारका लागि एक्सनमा उत्रिएको छ ।

प्रतिकृया दिनुहोस्