News Portal

न्युजिल्याण्डलाई हराउँदै भारत १२ वर्षपछि विश्वकपको फाइनलमा

रातोपोस्ट संवाददाता
१८६ पटक

काठमाडौं, ३० कार्तिक । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो । ३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो । डिरेल मिचेलले सर्वाधिक १३४ रन योगदान गरे । उनले ८५ बलमा शतक पूरा गरे । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए ।

कप्तान विलियम्सन र मिचेलले १८१ रनको साझेदारी गरे । ओपनरद्वय ड्वेन कोनभे र रचिन रविन्द्रले समान १३/१३ रन बनाए ।

विलियम्सन र मिचेल क्रिजमा टिकिरहे भारतको हातबाट खेल गुम्ने सम्भावना देखिएको थियो । तर भारतका बलर मोहम्मद शमीले ३३ औं ओभरमा उनीहरुको साझेदारी तोडे । उनले विलिम्सनलाई ६९ रनमा आउट गरे । त्यही ओभरमै उनले टम लेथमलाई पनि पेभेलियनको बाटो देखाए । त्यसपछि भारतीय टिम र प्रशंसकहरुमा आशाको सञ्चार जाग्यो ।

यद्यपि ग्लेन फिलिप्स र डेरेल मिचेलले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै खेल फेरि न्यूजिल्याण्डको पक्षमा मोड्ने प्रयास गरेका थिए । तर यो जोडीलाई जसपि्रत बुमराहले ४३ औं ओभरमा तोडे । फिलिप्सले ४१ रन बनाए ।

भारतको जितमा मोहम्मद शमीले सर्वाधिक सात विकेट लिए । जसपि्रत बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान १/१ विकेट लिए ।

मोहम्मद समीले टप अर्डरका ब्याटर ड्वेन कोनभे, रचिन रविन्द्र, केल विलिम्सन, डिरेल मिचेल र टम ल्याथम लगायतलाई आउट गरेका थिए । यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ११७ र श्रेयस ऐयरले १०५ रन बनाए । शुभमन गिलले ८० र केएल राहुल ३९ रनमा नटआउट रहे । कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए । बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन विकेट लिए ।

प्रतिकृया दिनुहोस्