News Portal

स्व. पवनकुमार खड्का स्मृति फुटबल : इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब विजयी

रातोपोस्ट संवाददाता
३०७ पटक

झापा, ७ फागुन । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।
सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग लिम्बू, मनिष पौडेल, मनकुमार लिम्बू र नितेश राईले गोल गरे । बाहुनडाँगीका रिक्की श्रेष्ठको प्रहार गोलमा परिणत भएको थियो भने विप्लब श्रेष्ठ र प्रविन लिम्बूको प्रहारलाई विपक्षी गोलरक्षक विपिन चौधरीले बचाएका थिए ।

खेलको ३० सेकेण्डभित्रै इटाभट्टाका लागि मनकुमार लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बाहुनडाँगीका लागि २३ औँ मिनेटमा रिङ्की श्रेष्ठले गोल गर्दै बराबरी बनाए । १४ औँ मिनेटमा बाहुनडाँगीका अंशु मगरले गरेको प्रहारले इटाभट्टाको रक्षापंक्तिले विफल बनाई दियो । इटाभट्टाका नितेश शाहीले २० औँ मिनेट हानेको फ्रिकिकलाई बाहुनडाँगीका गोलरक्षकले पन्च गरेर बचाए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको दोश्रो हाफमा दुवै टोलीले उत्कृष्ट मुभ बनाए पनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । खेलको म्यान अफ द म्याच इटाभट्टाका गोलरक्षक विपिन चौधरी घोषित भए ।

सोमबार भएको दोश्रो खेलमा लक्ष्मीधाप स्पोर्टस क्लब बुट्टाबारीलाई ५–१ को फराकिलो गोल अन्तरले हराउँदै होक्से युथ क्लब अन्तिम आठमा प्रवेश गरेको हो । होक्से युथ क्लबका लागि पुजन थापाले ४ गोल गरेका थिए । उनले ८ औँ, १० औँ, ३८ औँ र इन्जुरी समयमा १ गरी व्यक्तिगत ४ गोल गरेका थिए । ४० औँ मिनेटमा होक्सेका सागर रसाइलीले १ गोल गरे भने ७ औँ मिनेटमा लक्ष्मीधापका लागि एक मात्र सान्त्वना गोल सुजन विश्वकर्माले गरेका थिए । खेलको म्यान अफ द म्याच होक्सेका पुजन थापा भए । थापालाई स्व. पवनकुमार खड्काको परिवारजनले नगद तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउनेछन् । मंगलबारको पहिलो क्वाटरफाइनल आयोजक नकलबन्दा समाज विकास समिति र जोरसिमल फुटबल क्लबबीच हुने र दोश्रो खेल तुर्केनी फुटबल क्लब र धुलाबारी फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्