News Portal

मेचीनगरमा आइडिया हन्ट सुरु

रातोपोस्ट संवाददाता
११८ पटक

मेचीनगर, ३१ जेठ । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सञ्चालन भएको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार दुई दिन सञ्चालित मेचीनगर आइडिया हन्टको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले मेचीनगर स्थानीय सरकार युवा प्रति संवेदनशील रहेको बताए । उनले कार्यविधि नै बनाएर युवा लक्षित कार्यक्रम अगाडि बढाउन आफुहरू लागि परिरहेको उनको भनाइ छ ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अब नगरपालिकाले अझ प्रभावकारी ढंगले युवाको सक्रिय सहभागीता रहने र नतिजा आउने खालका सीप, ज्ञान र दक्षता अभिबृद्धि गर्ने विभिन्न कार्यक्रम ल्याउने बताए ।

काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रमको पहिलो दिन मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापति लगायत पदाधिकारी, राजनीतिक दल समर्थक विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिलगायतका उपस्थिति रहेको थियो । उनीहरूलाई विषय विज्ञ विमल राजवंशी र विकास कोईरालाले सहजीकरण गरेका थिए ।

बिहिवार नगरका दुई सय बढी विद्यार्थीको सहभागीतामा कार्यक्रम सञ्चालन हुने कार्यतालिका रहेको आयोजकले जनाएको छ । नगरका प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, हृदय राजवंशी लगायतको आतिथ्यता रहेको थियो । मेचीनगर युवा परिषद् अध्यक्ष कृष्ण काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विवेक खवासले गरेका थिए भने सञ्चालन सचिव आयुष्मान निरौलाकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्