News Portal

टी–२० विश्वकप फाइनल : दक्षिण अफ्रिकालाई उपाधि जित्न १७७ रनको लक्ष्य

रातोपोस्ट संवाददाता
२५ पटक

काठमाडौं, १५ असार । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले दक्षिण अफ्रिकालाई १७७ रनको चुनौती दिएको छ । केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको हो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए । शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे । आज भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई/दुई विकेट लिए ।

३.२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एक/एक विकेट रह्यो ।भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो।

प्रतिकृया दिनुहोस्