News Portal

बाहुनडाँगीको तरुल महोत्सवः बढिरहेछ पारखीहरुको आकर्षण

रातोपोस्ट संवाददाता
९ पटक

झापा । मेचीनगर नगरपालिकाको वडा नं. ४ बाहुनडाँगीमा आयोजित अन्तर्राष्ट्रिय तरुल महोत्सवमा नेपाल र भारतका रैथाने उत्पादनप्रति अवलोकनकर्ताको आकर्षण बढेको छ । मेचीनगर नगरपालिकाले आयोजना गरेको तीन दिवसीय उक्त महोत्सव सोमवार सुरु भएको हो । बिगत दुई वर्षदेखि बाहुनडाँगीमा माघे संक्रान्तिको अवसर पारेर तरुल महोत्सव हुँदै आएको छ ।

तरुल लगायतका रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । उनका अनुसार महोत्सवमा भारतका चार वटासहित ३५ वटा स्टल रहेको छ भने तीन दिनमा ५० हजार अवलोकनकर्ताले रु. ५० लाख बराबरको कारोवार गर्ने अपेक्षा गरिएको छ ।

भारतस्थित पश्चिम बंगालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्दै तरुल महोत्सवले दुबै देशको ग्रामीण भेगमा उत्पादित उत्पादनको बजारिकरणमा सहयोग पुर्याउने बताउँछन् । उत्सवमा तरुलका विभिन्न प्रजाति विक्रीका लागि राखिएका छन् भने तरुलबाट बनाइएको स्टिम मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौला लगायतका परिकार महोत्सवको आकर्षण बनेको छ ।

सिमल तरुल, घर तरुल, बन तरुल, सुठुनी तरुल, पताले तरुल, पिडालु, कच्छु लगायतका विभिन्न प्रकारका तरुल विक्रीमा राखिएको छ । त्यस्ता स्टलमा ग्राहकको घुइँचो लाग्ने गरेको स्थानीय ग्रिन जेनेरेसनका महासचिव मञ्जिल देवानले बताए । बाहुनडाँगीको हात्ती मैत्री किसान समूहले उत्पादन गरेको बेल्चनाको चाना, कोदोको पिठो, तामाको मेसु, मोरिंगाको पिठो, किम्बुको वाइन, रातो केराको विरुवा, मरिच, सुपारी र तेजपत्ताको विरुवा महोत्सवमा छुट्टै स्टलमा राखिएको समूहका अध्यक्ष देवीप्रसाद आचार्यको भनाइ छ ।

ओखलढुंगाको कुसुम राडीपाखी उद्योगले भेडाको ऊनबाट बनेका रु. तीन हजार ५०० देखि नौ हजार ५०० सम्म मूल्य पर्ने विभिन्न आकारका राडीहरु विक्रीका लागि महोत्सवमा ल्याएको उद्योगका सञ्चालक भक्तबहादुर गुरुङले जानकारी दिए । उनले विगतको पहिलो र दोस्रो तरुल महोत्सवमा समेत सामान ल्याएर उल्लेख्य व्यापार गरेको बताए । मेचीनगरको साँवा भेराइटीजले आदिवासी जनजातिको सांस्कृतिक पहिचानसँग जोडिएका दुर्लभ बिनायो, चिन्डो लगायतका सामान महोत्सवमा राखेको छ । राई जातिको लोगो, चिन्डो र बाँसको बिनायो रु. एक हजार मूल्यमा विक्री भइरहेको प्रोपाइटर नन्दमाया लिम्बुले बताइन् ।

हिमालयन महिला साझेदारी अचार तथा खाद्यान्न उद्योगले मेचीनगर–२ मा उत्पादित १३ प्रकारका अचार स्टलमा राखेको सञ्चालक लीला रिजाल खड्काको भनाई छ ।

प्रतिकृया दिनुहोस्