
मेचीनगर, २३ फागुन । पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइएको सेन्टरका संस्थापक अध्यक्ष मीनबहादुर बस्नेतले बताए ।
त्यस्तै, स्तरोन्नति तथा मर्मत गरेर आकर्षक खेलमैदान बनाइएको छ । रोलर लगाएर, घाँस मिलाएर तथा मैदान सम्याएर खेलमैदान बनाइएको मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिए । भोलि हुने उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुनेछ । बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगिताका लागि करिब एक करोड खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समिति संयोजक विमल आचार्यले जानकारी दिए । ‘हामीले स्थानीय स्तरमा नै खर्चको व्यवस्थापन गर्न सफल भएका छौं,’ आचार्यले भने, ‘कसैलाई पनि जबरजस्ती पैसा मागेका छैनौं र माग्दैनौ, सहयोगीहरुले आफै सहयोग गरिरहनु भएको छ ।’
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउने आयोजक समितिका सचिव राजु कार्कीले बताए । मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेका छन् ।