News Portal

मेचीनगर गोल्डकपमा आज चर्च ब्वाइज र झापा एफसी भिडदै

रातोपोस्ट संवाददाता
२० पटक

झापा, २५ फागुन । झापाको काँकरभिट्टामा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज दोस्रो दिनको खेल सञ्चालन हुँदैछ । आज चर्च ब्वाइज युनाइटेडले झापा एफसीको सामना गर्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसीको रोमाञ्चक भिड्न्त हुने छ ।

आयोजकले प्रतियोगितामा दुवै टिम सशक्त रहेका कारण आजको खेल अत्यन्तै प्रतिष्पर्धात्मक रहने विश्वास लिइएको छ । यस अघि उदघाटन खेलमा शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाहुना टोली भारतको जर्जियन एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् । झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिकाे प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षणमा मेचीनगर नगरपालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्