News Portal

रहस्यमा उत्तर कोरियाली नेता किम जोङको स्वास्थ्य

रातोपोस्ट संवाददाता
९४० पटक

एजेन्सी। गत साता आफ्ना हजुरबाको जन्म जयन्तीमा अर्थपूर्ण अनुपस्थितिलाई लिएर उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यस्थिति अनेक अड्कल लगाउन थालिएको छ।

एक उच्च अधिकारीलाई उद्धृत गर्दै सीएनएनले बताए अनुसार अमेरिकी जासुसी संयन्त्र एक शल्यक्रियापछि नेता किम गम्भीर जोखिममा हुन सक्ने अनुमानका आधारमा निगरानी गरिरहेको छ।

तथापि, अमेरिकी राष्‍ट्रपतिको कार्यालय ह्वाइटहाउसका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको सीएनएनले बताएको छ।

दुनियाँबाट अलगथलग रहेको उत्तर कोरियाबारे दक्षिण कोरियाली राजधानी सोलबाट सूचना संकलन गरिरहेको वेबसाइट ‘द डेली एनके’ले जनाएअनुसार नेता किम ‘कार्डियोभास्कुलर सर्जिकल’ प्रक्रियामा थिए।

शल्यक्रियापछि किमले आराम गरिरहेको उत्तर कोरियाभित्र रहेको आफ्नो जासुसी स्रोतलाई उद्धृत गर्दै ‘द डेली एनके’ले जनाएको छ।

‘द डेली एनके’ दक्षिण कोरियाली युनिफिकेसन मन्त्रालयसँग आबद्ध गैर नाफामुलक एजेन्सी हो। यस एजेन्सीलाई अमेरिकाको ‘नेसनल एन्डोमेन्ट फर डेमोक्रेसी’ नामक संस्थामार्फत लगानी उपलब्ध छ। गत वर्ष यस एजेन्सीले उत्तर कोरियाबारे सूचना संकलन गर्न चार लाख डलरको लगानी प्राप्त गरेको थियो।

पश्‍चिमा मुलुकले यस एजेन्सीबाट आएको सूचना तथ्यपूर्ण हुने विश्‍वास गर्दै आएका छन्।

अझै पनि उत्तर कोरियाली नेताको स्वास्थ्यस्थिति अति गोप्य राखिएको छ। उनको भित्री सर्कलका सीमित व्यक्तिले मात्र त्यसबारे थाहा पाउन सक्छन्।

उनका हजुरबा तथा उत्तरकोरियाका संस्थापक किम इल सुङको जन्म जयन्तीलाई भव्य रूपमा मनाइने गरेको छ। त्यति महत्वपूर्ण समारोहमा अनुपस्थित रहेर नेता किमले आफ्नो स्वास्थ्यस्थिति गम्भीर रहेको संकेत दिइसकेका छन्।

सन् २०२० को हालसम्म १७ वटा सार्वजनिक कार्यक्रममा मात्र उपस्थित रहेको दक्षिण कोरियाली युनिफिकेसन मन्त्रालयले जनाएको छ। सन् २०१९ मा उनी ८४ वटा सार्वजनिक कार्यक्रममा देखिएका थिए।

 

प्रतिकृया दिनुहोस्