News Portal

लकडाउन खुकुलो बनाएको भन्दै मन्त्रीहरुसँग प्रधानमन्त्री अ‍ोली रुष्ट,

रातोपोस्ट संवाददाता
६६३ पटक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रीहरुसँग रुष्ट बनेका छन् ।

जेठ २ गते पेश ल्याउने नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओली काठमाडौंको लकडाउन खुकुलो पारिएकोबारेमा असन्तुष्ट बनेका एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले काठमाडौंको पछिल्लो २, ३ दिनको अवस्था आफूले नजिकबाट नियाँलिरहेकोले यसलाई लकडाउन नभनिने भन्दै मन्त्रीहरुसँग कड्किएका थिए ।

उनले पछिल्ला दिनमा कोरोनाको संक्रमण बढिरहेकोले यसमा गम्भिर बन्नुपर्ने बताउँदै लकडाउन कडाईका साथ कार्यान्वयन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि आजै पोखरेल नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेर लकडाउन कडाई गर्नेबारे निर्णय गर्ने बुझिएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन्। एक मन्त्रीकाअनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएकोले यसमा व्यक्तिगत रुपमा जथाभावी नबोल्न कडा निर्देशन दिएका छन् । उनले सीमा समस्या हल गर्नको लागि आफ्नो तर्फबाट पहल गरिरहेको पनि विश्वास दिलाएका थिए ।

पछिल्लो समय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालको अभिव्यक्ति विवादमा आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सीमा विवादबारे जथाभावी नबोल्न निर्देशन दिएका हुन् ।

मन्त्री अर्यालले पत्रकार ऋषि धमलासँगको रेडियो कार्यक्रम नेपाली बहस नामक कार्यक्रममा लिम्पियाधुरा ईतिहासदेखि नै नेपालको नक्शामा नभएको कुरा बोलेको थिईन् । उनको यही अभिव्यक्तिलाई लिएर नेकपाकै सांसदहरुले पनि विरोध जनाएका थिए ।

नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले मन्त्री अर्यालको अभिव्यक्तिमा आपत्ति जनाउँदै संसदको अन्तर्राष्टिय सम्बन्ध समितिमा जवाफमा मागेका थिए ।

प्रतिकृया दिनुहोस्