News Portal

भारत–चीनबीच लद्दाखमा भिडन्त : २० भारतीय सैनिकको मृत्यु

रातोपोस्ट
८८५ पटक

एजेन्सी। भारत र चीनको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ ।भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ।

यसअघि तीन जनाको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको थियो । योसँगै ज्यान गुमाउने संख्या २० पुगेको हो । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल रहेका छन् । अन्यको नाम भने सार्वजनिक भएको छैन । झडपमा चिनियाँ पाँच सैनिक मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

झडपमा ३४ भारतीय सैनिक बेपत्ता भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले जनाएको छ । भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। लद्दाखको गालवन भ्यालीमा सोमबार राति झडप भएको हो । पछिल्लो केही समय यता सो क्षेत्रमा दुई देशबीच तनाव जारी रहेको छ । तनावलाई कम गर्न दुईदेशबीच छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको हो ।

केही समय यता लद्दाखमा भारत र चीनबीच सीमाका विषयमा विवाद हुँदै आएको थियो । दुबै पक्षले सीमा क्षेत्रमा सैनिक संख्या बढाएका थिए । भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।झडपको विषयलाई लिएर दुवै देशले एक अर्कालाई दोषारोपण गरेका छन् ।

यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो। लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ।

निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन। पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्