News Portal

मेसीलाई भित्र्याउन सिटीको प्रयास जारी

रातोपोस्ट संवाददाता
१०६७ पटक

एजेन्सी, भदौ १२ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई क्लबमा भित्र्याउनका लागि अनेक प्रयासहरु जारी राखेको छ । त्यसका लागि सिटीले आफ्ना तीन मुख्य खेलाडी बार्सिलोना पठाएर थप रकम पनि बुझाउने प्रस्ताव गरेको छ ।

सिटीले मेसी ल्याउनका लागि ८९.५ मिलियन पाउन्डसहित बर्नार्डो सिल्भा, गेब्रियल जेसस र एरिक गार्सिया क्याम्प नोउ पठाउने प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही सञ्चारमाध्यमले मेसी सिटी जानेबारे एतिहाड क्लबसँग उनका बुबा तथा एजेन्ट यसअघि नै छलफल गर्न म्यानचेष्टर पुगिसकेको समेत जनाएका छन् । यद्यपि मेसीले बार्सिलोना छाड्ने पक्का नभएसम्म उनी कहाँ जान्छन् भन्‍न सकिने अवस्था छैन ।

यदि मेसीले बार्सिलोनामा छाडेमा र सिटीको अफर स्वीकार गर्दै म्यानचेष्टर गएमा पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग मेसीको पुनर्मिलन हुनेछ । यद्यपि बार्सिलोनाले त्यो अफरबारे के गर्नेछ भन्‍ने निर्णय भइसकेको छैन ।

सिटीसँगै फ्रेन्च क्लब पिएसजी र इटालियन क्लब इन्टर मिलानले पनि मेसीलाई अनुबन्ध गर्ने इच्छा देखाइरहेको छ । बार्सिलोनाले भने मेसी अझै क्लबमै रहने जनाउँदै आएको छ । क्याम्प नोउमा मेसीको सम्झौता अझै एक वर्ष बाँकी छ ।

प्रतिकृया दिनुहोस्