News Portal

आज काग तिहार, यमदूतका रूपमा कागको विशेष पूजा

रातोपोस्ट संवाददाता
४९० पटक

काठमाडौँ, २८ कात्तिक । यसवर्षको तिहार सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीबाट कात्तिक शुक्ल द्वितियासम्म मनाइने तिहारको पहिलो दिन शुक्रबार कागको पूजा गरी मनाइँदैछ।

यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजा आजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

प्रतिकृया दिनुहोस्