News Portal

नेकपा प्रवक्तालाई प्रमका सल्लाहकारको जवाफ : गाडीमा ढुंगा प्रहार गर्दा नदेख्ने, जिन्दावादको नारा कसरी सुनियोजित भयाे ?

रातोपोस्ट संवाददाता
५७५ पटक

काठमाडाैँ, ७ मंसिर । सत्तारुढ नेकपाको विवाद स्थानीय तहसम्म पुग्न थालेपछि केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरु आरोपप्रत्यारोपमा लागेका छन् ।चितवनमा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई नेकपाका प्रचार विभाग प्रमुख र उपप्रमुखबीच सामाजिक सञ्जालमै वादविवाद सुरु भएको छ ।

नेकपाको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका प्रचार विभागका प्रमुख नारायणकाजी श्रेष्ठ हुन् भने उपप्रमुख सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारीमा पनि छन् । शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोपमा नेता पाण्डेविरुद्ध ओली समूहका कार्यकर्ताले नाराबाजी गरेको घटनालाई लिएर श्रेष्ठ र थापाबीच आरोप-प्रत्यारोप सुरु भएको हो । उक्त नाराबाजीको घटनालाई प्रचण्ड–नेपाल समूहले सुनियोजित भन्दै निन्दा गरेको छ भने घटनामा संलग्नलाई कारबाहीको माग समेत गरेको छ । ओली समूहका नेताहरुले भने घटनाको प्रतिरक्षाको प्रयास गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेकोको बेला श्रेष्ठ मौन रहेको उल्लेख गरेका छन् । यद्यपि, मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगा हानेको घटना नेकपाको आन्तरिक विवादभन्दा पनि प्रदेशको राजधानी विवादसँग जोडिएको घटना हो ।

उनले ट्वीटरमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिँदै भनेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनुभएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ । गज्जब छ! गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी ।’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य रहेको भन्दै एक ट्वीट गरेका थिए ।

श्रेष्ठले ट्वीट सन्देशमा लेखेका थिए, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।चेत होस् ।’

प्रतिकृया दिनुहोस्