News Portal

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी

रातोपोस्ट संवाददाता
४३८ पटक

पोखरा, २८ जेठ ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन्।

आज अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उनीहरूले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गर्न दाबी पेश गरेका हुन्। दाबी पत्र दर्तासमेत भइसकेको छ। मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरी ३१ जना सांसद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुपर्नेमा छन्।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि सरकार ढलेको थियो। आज प्रदेश प्रमुखले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्दै शनिबार अपरान्ह ३ बजेसम्म समय दिएकी थिइन्।

प्रतिकृया दिनुहोस्