News Portal

जर्मन फूटबलर टोनी क्रुसले लिए सन्न्यास

रातोपोस्ट संवाददाता
४५६ पटक

एजेन्सी, १८ असार । जर्मन फूटबलर टोनी क्रुसले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका छन् । जर्मनी यूरो कपबाट बाहिरिएपछि क्रुसले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएका हुन् । उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । इंग्ल्यान्डसँग पराजित हुँदै जर्मनी प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । आजबाट यूरो कपमा क्वार्टरफाइनलका खेलहरू हुन लागेका छन्।

सन् २०१४ को विश्वकप विजेता टोलीका सदस्य क्रुसले जर्मनीका लागि १०६ खेल खेलका छन् । रियल मेड्रिडका ३१ वर्षीय स्टार खेलाडी क्रुसले सन् २०१० मा जर्मनीको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले यूरो कपको पराजयसँगै अन्तर्राष्ट्रिय फूटबलबाट बिदा लिएको जनाएका छन् । अब उनी सन् २०२२ मा कतारमा हुने विश्वकप नखेल्ने भएका छन् । अब रियल मेड्रिडमै केन्द्रित हुनका लागि अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएको उनले जनाएका छन्। यससँगै श्रीमती र तीन सन्तानलाई समय दिने क्रुसको भनाइ छ।

अहिलेसम्म गरेको समर्थनका लागि उनले आफ्ना समर्थक र शुभेच्छुकलाई धन्यवाद दिएका छन् । यससँगै उनले आफ्ना प्रशिक्षक जोआकिम लोलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन् । उनले नै आफूलाई राष्ट्रिय खेलाडी र विश्वकप विजेता टोलीको सदस्य बनाएको जनाएका छन् । जर्मनी यूरो कपबाट बाहिरिएपछि प्रशिक्षक लोले पनि राजीनामा दिएका छन् । उनी १५ वर्ष जर्मन टोलीको प्रशिक्षक रहेका थिए।

प्रतिकृया दिनुहोस्