News Portal

रामचन्द्र पौडेलको रुपान्तरण सूत्र- ‘कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गरौं’

रातोपोस्ट संवाददाता
३३२ पटक

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रुपान्तरणका लागि वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन्। त्यसका लागि उनले १० सुत्र अघि सारेका छन्। उनले कांग्रेसले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत हुनुपर्ने बताए। पौडेलले विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने बताए।

राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँनुपर्ने औंल्याए। राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गर्नुपर्ने पौडेलको धारणा छ।आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ’प्याडिकल सेन्टर’ बाटोमा हिँडाउनुपर्ने उनले बताए। निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय भएको बताउँदै उनले राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुनसक्दै न स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्ने बताए।

उनले तय गरेको कांग्रेस रुपान्तरणको सूत्रमा भनिएको छ- मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद। पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन। तर, जतासुकै हस्तक्षेप पनि गर्दैन। विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो। सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी कांग्रेसको निश्छल चरित्र हुनुपर्छ। कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन। सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस जसले २०१५ सालमा दुईतिहाई जनमसर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयाश गरौं।

उनले नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारितहाम्रो राष्ट्रवादको विचारलाई अघि बढाउनुपर्ने बताए। कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्न आवश्यक रहेको बताए। उनले भने, ‘राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ। राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं। विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं।’

प्रतिकृया दिनुहोस्