News Portal

कमल थापा राप्रपा अध्यक्षमा उठ्ने घोषणा

रातोपोस्ट संवाददाता
३६९ पटक

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आसन्न महाधिवेशनमा फेरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सोमबार आयोजित कार्यक्रममा थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। “पार्टीलाई कहिले फुट्न नदिने र नफुटाउने संकल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु,” उनले भने।

हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनको काम बाँकी भएकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ थियो। “केही नगरी नहुने काम बाँकी छन्। ति कामलाई अधुरै छाडेर बस्न मिल्दैन,” थापाले भने, “सनातन हिन्दूराष्ट्र आवश्यक छ। भूराजनीतिक कारणले राजसंस्था आवश्यक छ। मुलुकले संघीयता धान्न सक्दैन। अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङदेनलाई पनि सहमतिमा आउन थापाले आग्रह गरे। यो एकताको महाधिवेशन भएकाले सहमति र सहकार्यबाट नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ थियो।

थापाले भने, “हिन्दूराष्ट्रको अजेन्डा कमजोर होस्, राजतन्त्रको मुद्दा कमजोर होस् भन्नेहरूलाई खुशी हुन दिनुहुँदैन । केही दिनअघि लिङदेनले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनको समूहबाट धवलशम्शेर राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। राप्रपाको महाधिवेशन १५ देखि १७ मंसीरमा काठमाडौंमा हुने तय भएको छ।

प्रतिकृया दिनुहोस्