News Portal

कांग्रेस महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

रातोपोस्ट संवाददाता
५१० पटक

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । काठमाडौँको भृकुटीमण्डमा शुक्रबार शुरु भएको महाधिवेशन उद्घाटनसत्र सकिएपछि भएको बन्दसत्रले तीनवटा प्रतिवेदन पारित गरेको थियो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बन्दसत्र सत्रिएपछि महाधिवेशन अब चुनाव केन्द्रित भएको हो । शनिबार उम्मेदवारी दर्ता हुने छ भने पर्सि सोमबार मतदान हुनेछ ।

यस्तो छ चुनावी कार्यतालिका

१. उम्मेदवारको मनोनयन दर्ता : आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।

२. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझ : आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म। त्यसपछि ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने र १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार) हुनेछ ।

३. भोलि बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो १२ : १५ बजे हुनेछ।

४. मतदान पर्सि बिहान ८ बजे हुनेछ ।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ। सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ। सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

प्रतिकृया दिनुहोस्