News Portal

कांग्रेस पदाधिकारीको मतगणना आज अपराह्नदेखि

रासस
४५३ पटक

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो। निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले बुधबार अपराह्नबाट मत गणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ। कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो। पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतादन भएको थियो।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए। मंगलबार राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका थिए। सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए। दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो। जसमध्ये ३५ मत बदर भएको थियो।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए। उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए। ‘आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ‚’ संयोजक घिमिरेले भने‚ ‘ हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ।’

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। मंसिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो। मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो। सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा थिए।

प्रतिकृया दिनुहोस्