News Portal

रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

रातोपोस्ट
२९६ पटक

काठमाडौं, २ पुस । भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ ।

नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । एउटा लोको पाइलटलाई मासिक ३ लाख २५ हजार भारु दिनुपर्छ । यस्ता पाइलट चार जना रहनेछन् । सिग्नलिङका लागि आउने प्राविधिकलाई पनि मासिक तलब करिब २ लाख ५० हजार भारु दिनुपर्नेर्छ ।

नेपाली कर्मचारी पनि एक सय ५१ जना रहनेछन् । उनीहरुका लागि मासिक ६० लाख रुपैयाँ खर्च हुनेछ । रेलका लागि इन्धन खर्च प्रतिदिन एक लाख ३० हजार रुपैयाँकोे हुने झाले बताए । भारतीय रेलवे कम्मनी कोंकणसँग एक वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु (३५ करोड २० लाख रुपैयाँ) मा सम्झौता भएको छ ।

यसबापत पहिलो किस्ताका रुपमा साढे सात करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ। कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनका खर्च १० लाख रुपैयाँभन्दा बढी हुने झाले जानकारी दिए । ‘रेल चढ्ने यात्रुबाट वार्षिक १० करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,’ उनले भने ‘यति हुँदा पनि प्रतिदिन घाटा करिब ८ लाख हुन्छ ।’ टिकट शुल्कबाट प्रतिदिन पौने तीन लाख रुपैयाँ आम्दानी हुनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्