News Portal

क्लासिक र संगम बराबरी, ह्याप्पी क्लब विजयी

रातोपोस्ट संवाददाता
४०७ पटक

काँकरभिट्टा, २१ जेठ । मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसैगरी दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा जारी पहिलो खेलमा क्लासिक र संगमले समान एक÷एक गोल गर्दै बराबरी खेलेका छन् । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । क्लासिकको तर्फबाट आदित्य बुढाथोकी र संगमको तर्फबाट आदिल राईले गोल गरे ।खेलमा उत्कृष्ट प्रदर्शनी गर्न सफल संगमका गोल किपर विशेष खत्री म्यान अफ द म्याच घोषित भए । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा संगमकै सोम कार्की घोषित भए । उनिहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

त्यसैगरी आइतबार नै भएको दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ । राइजिङ ब्वाइज एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ह्याप्पी विजयी भएको हो । ह्याप्पीको तर्फबाट आदित्य ढुंगेल ह्याट्रिक पूरा गर्दै व्यक्तिगत ३ गोल गरे भने युगल भण्डारीले एक गोल गरे ।ह्याप्पीबाट उत्कृष्ट खेलेका आदित्य ढुंगेल म्यान अफ द म्याच घोषित भए । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा ह्याप्पीकै युगल भण्डारी घोषित भए । उनिहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित लिगमा १२ अंक सहित ह्याप्पी क्लब शिर्ष स्थानमा छ । ५ अंकसहित क्लासिक वारियर्स दोस्रो, ४ अंकसहित संगम फुटबल क्लब तेस्रो र १ अंकसहित राइजिङ ब्वाइज एफसी अन्तममा रहेको छ ।

प्रतिकृया दिनुहोस्