News Portal

झापा जिल्ला खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान

रातोपोस्ट संवाददाता
२६२ पटक

झापा, २१ पुस । नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने झापाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । आज मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रममा १६ जना खेलाडीलाई सम्मान गरिएको हो ।

प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कांस्य पदक जितेको थियो । पुरस्कृत हुनेहरूमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तेक्वान्दोका रोशन मगर छन् । त्यस्तै, रजत पदक विजेताहरू बक्सिङका सुस्मिता राई र अविनय राई, आर्चरीका योगिता काम्बाङ र स्मृति उप्रेती, बुद्धिचालकी कृति सरा अधिकारी, पौडीका प्रारम्भ भण्डारी, सेपाताक्रोका सुशील विश्वकर्मा छन् ।

त्यस्तै, कांस्य पदक विजेताहरू बुद्धिचालकी खुश्बु थापा र राजन सुवेदी, जुडोका निश्चल राई, मङ्गलु मेचे र प्रेम गुरुङ, कुस्तीका विशाल बुढाथोकी र रेणुका राजवंशी छन् ।कार्यक्रमकै अवसरमा पूर्व अध्यक्ष शङ्कर थापाले व्यक्तिगत रुपमा पदकधारी खेलाडीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेका थिए ।

समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंसराज वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल लगायतले खेलाडीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अवसर पारेर समितिका पूर्व अध्यक्ष शङ्कर थापा, बक्सिङ प्रशिक्षक डम्बर लिम्बू, आइटिएफ तेक्वान्दो प्रशिक्षक नवीन तामाङ, पूर्व कार्यालय प्रमुख टहलदास मैनाली र पूर्व लेखापाल देवी कार्की (न्यौपाने) लाई पनि सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्