News Portal

सांसद आलमको घरमा प्रहरीको छापा, १२ राउन्ड हवाईफायर

नयाँ पेज
८११ पटक

रौतहट । ज्यूँदा मानिसलाई भट्टीमा जलाएको र विष्फोटक पदार्थ ओसार पसार मुद्दामा नख्खु कारागारमा रहेका रौतहट क्षेत्र नम्बर–२ का कांग्रेसका निलम्बित सांसद अफताव आलमको घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ ।

हत्या र विष्फोट प्रकरणका आरोपित आलमका भाइ महमद महताब आलम लुकिछिपी घरमा आएको सूचनाको आधारमा प्रदेश–२ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे पुगेको प्रहरी टोलीले आलमको राजपुरस्थित घरमा छापा मारेको होे ।

छापा मारे लगत्तै ठूलो संख्यामा गाउँलेहरुले डाँका आयो भन्दै होहल्ला गर्दै प्रहरी टोलीलाई अवरोध गरेको थियो । आलमको घर अगाडि जम्मा भएको भीड हटाउन प्रहरीले १२ राउण्ड हवाइफायर समेत गर्नु परेको थियोे । प्रहरीले छापा मारे पनि महताब आलमलाई भने प्रहरीले फेला पार्न सकेन ।

राजपुर नगरपालिका मेयर सेख सकिलले डकैती शैलीमा मध्यरातमा प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । दुई दिनपछि आउन लागेको मुस्लिमहरुको पर्व ईद उलफित्रलाई प्रभावित बनाउन प्रहरीले षड्यन्त्र गरेको मेयर सकिलले आरोप लगाएका छन् ।

यता, प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले आलमका भाइलगायत ३ जना फरार अभियुक्त घरमा आएको सूचनाको आधारमा प्रदेश र रौतहट प्रहरीको संयुक्त टोलीले घरमा छापा मारिएको बताएका छन् ।

उनले भने, ‘अपराधीलाई पक्राउ गर्न कुनै साइत हेर्नु पर्दैन सूचना आउना साथ प्रहरी सक्रिय हुन्छ ।’ राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।

प्रतिकृया दिनुहोस्